सुदूरपश्चिममा किवी खेतीको प्रचुर सम्भावना

धनगढी: सुदूरपश्चिमका सात पहाडी जिल्लामा किवी खेती गर्न सकिने प्रचुर सम्भावना रहेको कृषि क्षेत्रका अधिकारीहरुले बताएका छन। व्यवसायिक किवी खेती गर्न चाहने किसानलाई प्रदेश सरकारले अनुदान दिने योजना भएको बताइएपनि अझै सुदूरपश्चिमका किसानहरुमा किवी खेतीप्रतिको आकर्षण भने बढ्न सकेको छैन। 

खैरो बोक्रा भित्र, हरियो फल जुन पाकेपछि गुलिइयो हुने गर्छ। निकै गुणकारी मानिने किवीलाई भिटामिन सी को खजाना नै मानिन्छ। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ का गणेशबहादुर ऐर अहिले त्यही किवी खेतीमा रमाइरहेका छन्। 

वि.स. २०७० सालसम्म तरकारी व्यवसाय गरिरहेका ऐरले आम्दानी राम्रो हुने देखेपछि किवी खेती सुरु गरेको बताएका छन। तरकारी व्यवसाय गरिरहँदा फुर्सद कम हुने तर आम्दानी भने सो अनुसारको नहुने भएकाले किवी खेतीमा लागेको ऐरले दिनेशखबरलाई बताए।

ऐरले किवी खेती गर्न लागेको सात वर्षमात्रै भएको छ तर उनले अहिले वार्षिक १० लाख रुपैयाँ बचत  गर्न थालेको दाबी गरेका छन्। झन्डै ३० लाख रुपैयाँ लगानी गरेर १२ रोपनीमा किबीको २ सय बिरुवा लगाएका उनले सय बोटबाट भने प्रतिफल पाउन लागेको बताएका छन्। 

यो वर्ष सय विरुवाबाट ५० क्विन्टल उत्पादन भएको ऐरले बताए। रोग तथा कीराको प्रकोप नहुने हुँदा किवी खेती गरेर आत्मनिर्भर हुन निकै सजिलो भएको बताउने ऐरले किवीको नर्सरी समेत राखेका छन् जहाँबाट प्रति विरुवा ५ सय रुपियाँमा बोट विक्री भइरहेको छ। 

फल र विरुवा बेच्न कुनै समस्या नहुने उनको भनाइ छ। नयाँ विरुवा किन्ने किसान नर्सरीमै आउने गरेको र किवी स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ। यसको साथै धरानमा वाइन कम्पनी खुलेको कारण जति उत्पादन गरे पनि सजिलै बिक्री गर्न सकिने ऐरको भनाइ रहेको छ।

१५ हेक्टर क्षेत्रमा किवी खेती

सुदूरपश्चिमका सात पहाडी जिल्लामा झन्डै १५ हेक्टर क्षेत्रमा किवी फलको खेती गरिएको सरकारी तथ्यांक रहेको छ।  नेपालमा प्रति हेक्टर औसत २० टन उत्पादकत्व रहेको किवी फलको खेती समुद्री सतहबाट १२ सयदेखि २ हजारको उचाइमा राम्रो हुने बताइएको छ।

किवी फलको खेती सुदूरपश्चिममा बाजुरा, डोटी र डडेल्धुरामा सबैभन्दा बढी गरिएको र बिस्तारै अन्य जिल्लामा पनि फैलिन लागेको कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए।

निर्देशक जोशीले भने, ‘किवीको फल स्वास्थ्यका लागि निकै राम्रो भएको र यसको खेती गर्दा पोथीसँगै भाले बिरुवा समेत लगाउनु पर्छ। किवी फल ज्यादै पोषिलो र धेरै फल्ने र खेती गर्न सजिलो हुन्छ।’ 

किवी कहिले लगाउने

यो फलको बिरुवा पुस–माघमा लगाउनु पर्छ भने फागुन चैतमा फूल फुल्ने र कार्तिक–मंसिरमा खान तयार हुन्छ। किवीबाट जुस, क्यान्डी, वाइन समेत बनाउन सकिने हुँदा उत्पादन बढाउन सके किसानले मनग्गे आम्दानी गर्न सकिने र प्रदेशमा प्रति हेक्टर झन्डै २० टन रहेको र प्रति रोपनी २० देखि ३० बोट रोप्न सकिने कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीको भनाइ छ।

पहाडी क्षेत्रको मलिलो र पानी नजम्ने ठाउँमा जताततै किवी खेती गर्न सकिने हुँदा र राम्रो आम्दानी समेत गर्न सकिने भएकाले प्रदेश सरकारले किवी खेती गर्न चाहने किसानलाई अनुदान दिने योजना रहेको भनाइ प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराको छ।

बोहराले भने,‘विरुवा खरिद र बोट हुर्काउन तीन वर्षसम्म किसानहरुलाई अनुदान दिने योजना प्रदेश सरकारको छ।’

किसान अझै अनुदान कुर्दै 

सरकाले फलफूल खेतीमा अनुदान दिने भनेपनि किसानले बोट खरिदमा ५० प्रतिशत अनुदान बाहेक अन्य  सहयोग नगरेको डडेल्धुराको आलीताल गाउँपालिका वडा नम्बर २ लामीटुँडाका किसान लक्ष्मण थापा मगरले बताए। 

सरकारले तीन वर्षसम्म अनुदान दिए आलीतालमा पनि दर्जनौ किसानले किवी खेती गर्न चाहेको थापालेको भनाइ छ। यसैगरी दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ भोराकोटका मोहनदेव मिश्रले बारीमा ३ सय विरुवा किवी लगाएका छन्। 
तर उनी भन्छन् उनले अहिलेसम्म सरकारबाट कुनैपनि सहयोग पाएका छैनन्। 

दोलखाबाट ५ सय रुपियाँको दरले विरुवा खरिद गरेका मिश्रले स्थानीय बजारमा उचित मूल्य पाउन मुस्किल हुने चिन्ता व्यक्त गरेका छन्। महंगो भएको कारण स्थानीयले खरिद गर्न असजिलो मानेको उनले बताए। सरकारले अनुदान दिन्छ भन्ने कुरा आफूलाई थाहा नभएको मिश्रले बताए।

कुन जिल्लामा कति किवी 

कृषि निर्देशक जोशीका अनुसार डोटी सिलगढीका हेम मल्ल प्रदेशकै पहिलो किवी किसान हुन। प्रदेशमा १५ बोटदेखि ५ सय बोट लगाउने किसानको संख्या लगभग हजार जना रहेको छ। १५ हेक्टरमा किवी खेती गरिएको भएपनि अहिले ७ हेक्टरजतिमा मात्रै उत्पादन भइरहेको छ। 

कृषि निर्देशनालयका निर्देशक जोशीका अनुसार पहाडी सात जिल्ला मध्ये डडेल्धुरामा २ हजार ८ सय बोट, बाजुरामा २ हजार बोट, अछाममा ७ सय ९० बोट, बैतडी र बझाङमा ४-४ सय बोट,  दार्चुलामा ३ सय र डोटीमा २ सय ५० बोट लगाइएको छ। 

यस्ता छन् किवीका फाइदा

किवी फल सबै उमेर समूहका व्यक्तिले खान हुने र यसको सेवनबाट स्वास्थ्यमा धेरै फाइदा हुने बताइएको छ।

किवीमा धेरै भिटामिन खनिज र अन्य पोषणतत्व रहेको हुन्छ। यो फलमा बोसो र कोलेस्टेरोल हुँदैन। किवीमा भिटामिन ए, बी र सी तथा क्याल्सियम र फलाम पाइने हुँदा स्वास्थ्यका लागि किवी निकै लाभदायक मानिन्छ। 

किवीमा भएको भिटामिन इ र एन्टिअक्सिडेन्ट तत्वका कारण छाला समेत स्वस्थ र सुन्दर हुन्छ। यो फलमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाएर मुटुको रोग लाग्न दिँदैन।

साथै अनिद्रा, मुटु र मिर्गौलाको लागि पनि किवी सेवन गर्नु हितकर हुने बताइएको छ। किवीले कब्जियतबाट समेत मुक्ति दिलाउँछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button