यो गीत मात्र हाेइन, मिर्गौला नपाएर बितेकी सोनु सिनालको कथा हो

एक दिन गीतकार सरोज केसीको म्यासेन्जरमा साथी धीरेन्द्र सिनालले पठाएको एउटा तस्वीर खस्छ ।

‘घरनजिकको टेलर सर्दै रहेछ । सोनुले तीन महिनाअघि ब्लाउज सिलाउन दिएकी रहिछन् । अहिले टेलरको दाइले सिलाएर तयार पारेको ब्लाउज बुझाउनुभयो,’ धीरेन्द्रले तस्वीरसँगै खसालेको म्यासेज थियो त्यो । 

म्यासेज पढेर सरोज मूर्च्छा पर्छन् । उनका आँखा टिलपिलाउँछन् । ‘जसले सिलाउन दिनुभयो, उहाँ यो संसारमा हुनुहुन्न । धीरेन्द्रजीको मनमा के बितिरहेको होला,’ उनी भावविह्लव हुन्छन् । 

सरोजलाई लागेको झट्का त्यसबखत एकाएक गीतमा परिणत हुन्छ । उनी पहिलो हरफ लेख्छन्-

जब जून झुल्किन्छ रातमा झल्को तिम्रै
जब शीत टल्किन्छ पातमा झल्को तिम्रै ।

‘तपाईंले गीत लेख्दिनुपर्‍यो’ भनेर धीरेन्द्रले सरोजलाई आग्रह गरेको एक वर्ष बितिसकेको थियो ।  धीरेन्द्रकी श्रीमती सोनु सिनाल मिर्गौलापीडित थिइन् । उनको उपचारका लागि धीरेन्द्रलाई पैसा जुटाउनु थियो । सोनुको उपचार गर्दागर्दै रित्तिइसकेका धीरेन्द्रसँग सोनुको थप उपचारका पैसा आवश्यक थियो । 

यही सिलसिलामा गीतमार्फत पनि सहयोगका लागि अपिल गर्न सकिने धीरेन्द्रले सोचे । तर, सरोजलाई शब्द फुरिरहेको थिएन । लेख्छु भन्दाभन्दै एक दिन उनले अप्रिय घटना सुने- सोनुको निधन भयो ।

‘समयमा उपचार नपाएर सोनुजीको निधन भएछ । मलाई पीडा भयो, सायद मैले गीत लेखिदिएको भए सोनु बाँच्नुहुन्थ्यो कि,’ सरोज सुनाउँछन् । 

एक दिन धीरेन्द्रलाई समवेदना दिँदै सरोजले फोन गरे । त्यतिबेला उनले आफूले समयमै गीत लेख्न नसकेको भन्दै धीरेन्द्रसामु पछुतो माने । ‘ठीकै छ । अब सोनुको लागि श्रद्धाञ्जलि गीत लेखिदिनुस् न,’ धीरेन्द्रले भने ।

०००

गत अगस्ट ९ मा युट्युबमार्फत ‘झल्को तिम्रै’ गीत सार्वजनिक भयो । सरोजको शब्द, आशिष अविरलको सङ्गीत र प्रविन बेडवालको आवाजले गीतलाई कर्णप्रिय बनायो । कोही गुमाउनुको पीडा कति असह्य हुन्छ ? गीतको भिडियोले त्यसको मर्मलाई टिपेको छ । लक्ष्मण सुनारले निर्देशन गरेको गीतको भिडियोमा भएको कथा, सायद दर्शकका लागि नयाँ नलाग्ला । तर, यो धीरेन्द्र र सोनुको आफ्नै कथा हो । जहाँ सुरुदेखि अन्तिम दृश्यसँग कठोर वास्तविकता लुकेको छ । 

भिडियोमा प्रेमजोडी विवाहबन्धनमा बाँधिन्छ । वैवाहिक जीवन खुसी–खुसी बितिरहेको छ दुवैको । एक दिन उनीहरूको दुनियाँमा नयाँ खुसी छाउँछ । श्रीमती गर्भवती हुन्छिन् । तर, त्यो खुसी बाँड्न नपाउँदै एक दिन उनी बिरामी पर्छिन् । उनले बच्चा, आँखाको ज्योति र मिर्गौला तीनवटै कुरा गुमाउँछिन् । आँखाको ज्योति त केही दिनमा फर्कन्छ तर बच्चा र मिर्गौला सदाका लागि गुम्छन् । 

त्यसपछि डायलाइसिसका लागि उनीहरू आफ्नो देशमा भौँतारिन्छन् । देशमा सम्भव नभएपछि निकै कठिनताका साथ भारतमा लगेर डायलाइसिस गर्छन् । एक दिन श्रीमतीको स्वास्थ्य अचानक बिग्रिन्छ । दुखाइ कम नभएपछि श्रीमान्‌ले हस्पिटल लैजाने क्रममा बाटैमा उनले ज्यान गुमाउँछिन् ।

सोनु बितेको आगामी कात्तिक २२ गते १ वर्ष पुग्छ । योबीचमा धीरेन्द्र कतिपटक रोए, कतिपटक बरबराए हिसाब छैन । पीडा यसकारण भयो कि राज्यको बेवास्ता र लापर्वाहीले सोनु गुमाउनुपर्‍यो धीरेन्द्रले ।

‘हामीजस्ता सर्वसाधारण र राजनीतिक नेताहरूले राज्यबाट पाउने सुविधामा भएको यो विभेद अक्षम्य छ । देशमा सबै किसिमका स्वास्थ्य सेवाको सुविधा भइदिएको भए सायद हाम्रो बच्चा पनि खेर जाँदैनथ्यो । मेरी श्रीमतीले दश-दश वर्ष मृत्युसँग संघर्ष गर्नुपर्दैनथ्यो । राज्यकोषको पैसाले नेताको उपचार गर्ने राज्यले किन जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिन सक्दैन ? यही हो लोकतान्त्रिक गणतन्त्र ? हामीले यसैका लागि जनआन्दोलन गरेका थियौँ ? सरकार, म जीवनसंगिनीको मृत्युको जवाफ खोजिरहेको छु’, सोनु बितेको दुई महिनापछि ८ पुसमा धीरेन्द्रले ‘मैले सोनुलाई जोगाउन सकिनँ’ शीर्षकमा कान्तिपुर दैनिकमा लेखे । 

सोनुलाई श्रद्धाञ्जलिस्वरुप तयार पारिएको गीतको भिडियोमा धीरेन्द्र आफैँले अभिनय गरेका छन् । कलाकार सुरविना कार्कीको अनुहार यदाकदा सोनुसँग मिल्थ्यो । उनीहरूले सुरविनालाई नै सोनुको भूमिकामा प्रस्ताव गरे । सुटिङमा सुरविनाले सोनुकै  कपडा लगाइन् । त्यतिबेला धीरेन्द्र मूर्च्छित भए । उनले सुरविनालाई दुरुस्तै सोनु देखेछन् । सुरविना सुटिङ गर्न जब धीरेन्द्रको आफन्तको घरमा गइन्, आफन्तहहरू बितेकी सोनुलाई आँखैअगाडि देखेझैँ लागेर भावविह्ल बने ।

सुरवीविनाले पनि सोनुको भूमिका निर्वाह गर्नु चुनौती ठानेकी थिइन् । ‘अभिनय ! लाग्थ्यो म सक्छु तर यो काम गर्दा बारबार सोचेँ, कतै म सक्दिनँ कि ? हिम्मत जुटाउँदै गरेको यो काम, स्वर्गीय सोनु सिनालको चरित्र निभाउने मेरो प्रयास,’ गीत सार्वजनिक भएपश्चात् सुरविनाले फेसबुकमा लेखिन् ।

०००

२०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक दुवै मिर्गौला फेल भए । तर, उनले तुरुन्तै नातेदार भान्जी पर्नेबाट सजिलै मिर्गौला प्रत्यारोपण पनि गरे ।

त्यतिबेला ओलीले मृर्गौला प्रत्यारोपण गर्नु सामान्य कुरा भएको बताएका थिए । मिर्गौलापीडित भएर उपचारका लागि निकै सङ्घर्ष गरिरहेकी महेन्द्रनगरकी सामान्य परिवारकी सोनुले १ चैत ०७६ मा प्रकाशित कान्तिपुर दैनिकमा ‘मेरो बाँकी उमेर प्रधानमन्त्रीलाई’ शीर्षकमा लेख लेखिन् ।

लेखमा सोनुले भनेकी थिइन्, ‘आफूसँग भएको आर्थिक स्रोत सकिँदै गएपछि अनि देशको अवस्था बिग्रिँदो भएपछि बिस्तारै आस पनि कम हुँदो रहेछ । तपाईं त कार्यकारी ठाउँमा हुनुहुन्छ, चाहँदा त हामीजस्ताका लागि धेरै काम गर्न सक्नुहोला । तपाईं सञ्चो भएर आउनुहोस्, अनि देशमै सस्तो र सहज उपचार हुने वातावरण बनाउनुहोस् । मेरो बाँकी उमेर हजुरलाई लागोस् !’

मिर्गौलापीडित प्रधानमन्त्रीले आफूहरूको पीडा बुझ्लान् भनेर सोनुले लेखेकी थिइन् । त्यो लेख त्यतिबेला निकै चर्चित बन्यो । 

२०६९ सालमा सोनु गर्भवती भइन् । एक दिन अचानक रक्तचाप बढेपछि उनी कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा गइन् । त्यहाँ स्त्रीरोग विशेषज्ञ नभएपछि श्रीमान् धीरेन्द्र र सोनु धनगढीस्थित सेती अञ्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञको क्लिनिकमा गए ।

त्यहाँ डाक्टरले समस्या पत्ता लगाउन सकेनन् । एक हप्तापछि खुट्टा सुन्निनेलगायतका समस्या देखिए । त्यहाँको उपचारमा विश्वास नलागेपछि उनीहरू भारत पुगे । सोनुलाई प्रिइक्लाम्सिया भन्ने रोगले च्यापेको रहेछ । रक्तचाप धेरै बढेर किड्नी, आँखा र पेटको बच्चा तीनवटै कुरा सोनुले गुमाइन् । उपचारका लागि सोनु र धीरेन्द्र नयाँ दिल्लीका एम्स र सफदरजंग अस्पतालसम्म पुगे । अब डायलाइसिस वा प्रत्यारोपणबाहेक विकल्प बाँकी थिएन ।

 २०७३ सालमा सोनुलाई निकै गाह्रो भएपछि उनीहरू नयाँ दिल्ली गए । डायलाइसिस गराइहाल्नुपर्ने डाक्टरको सुझाव थियो । न अङ्गदाता भेटिए, न खर्चको इन्तजाम । त्यतिबेला सेती अञ्चल अस्पतालमा पनि निःशुल्क डायलाइसिस सेवा सुरु भए पनि सेवा पाउन मुस्किल नै थियो । त्यही क्रममा धीरेन्द्रका बाको पनि किड्नी फेल भयो । ससुरा–बुहारी नयाँ दिल्लीका विभिन्न सेन्टरमा डायलाइसिसका भरमा बाँचे ।

स्व. सुशील कोइराला प्रधानमन्त्री भएका बेला मिर्गौलापीडितलाई १ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय  भयो । त्यो लिन दुईपटक काठमाडौं आउजाउ गर्दा ३० हजार खर्च भयो, तर उनीहरूले पैसा पाएनन् । पछि १ लाख रुपैयाँ दिने निर्णय नै खारेज भएछ । 

६ महिनाको दिल्ली बसाइपछि धनगढीमा डायलाइसिसको पालो पाइने खबर सुनेर उनीहरू फर्किए । सेती अञ्चल अस्पतालमा नियमित पालो पाएनन् । अनि कोहलपुरको नेपालगन्ज मेडिकल कलेजमा पालो मिलाउन खोजे । तर, फिस्टुला बिग्रिएर सोनुलाई हेपाटाइटिस सी सर्‍यो ।

‘फिस्टुलामा समस्या आएपछि २०७४ भदौमा म फेरि काठमाडौं गएँ । सरकारीमा त यत्तिकै हन्डर थियो, ज्यानको कुरो भनेर काठमाडौंको सुमेरु अस्पताल पुग्यौँ । त्यहाँ पनि उस्तै हन्डर खानुपर्‍यो । फिस्टुला सुन्निएर दुखाइ हरेक घण्टा बढिरहेको थियो । अलिकति पनि सञ्चो नभएकाले र चित्तबुझ्दो परामर्श नपाएकाले हामीले फेरि नयाँ दिल्ली जाने निर्णय गर्‍यौँ,’ सोनुले लेखमा उल्लेख गरेकी छन्, ‘नयाँ दिल्लीमा देखाउँदा सुन्निएको भागबाट फिस्टुला फुट्ने अवस्थामा पुगेको थियो । फिस्टुला भएको बायाँ हात नै काट्नुपर्नेसम्मको जोखिमबाट एम्सका डाक्टरले मलाई बचाए । घाँटीमा अस्थायी पाइप राखेर डायलाइसिस सुरु भयो । एम्सले नै दायाँ हातमा शल्यक्रिया गरी नयाँ फिस्टुला बनाइदियो ।’

घर फर्किएर उनीहरू हरेक हप्ता भारतकै बरेलीमा डायलाइसिसका लागि जान थाले  । कारण सेती अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजले हेपाटाइटिस संक्रमण भएकै कारण सोनुलाई सेवा दिन मानेका थिएनन् । पछि हेपाटाइटिस उपचारमार्फत निको त बनाइन्, तर सेती अञ्चल अस्पतालले सेवा दिन मानेन । बाध्य भएर भारतमै डायलाइसिस गर्न जानुपर्‍यो । मिर्गौलाकै कारण २०७५ असारमा धीरेन्द्रका बाले संसार छाडे ।

सोनुलाई हेपटाइटिस नेगेटिभ देखिए पनि डायलाइसिस गर्न अस्पतालले मानेनन् । 

फेरि भारत जान बाध्य भइन् । उनले अनेक हण्डर खाइसकेकी थिइन् । त्यतिबेला ४० लाखभन्दा बढी खर्च भइसकेको थियो धीरेन्द्र र सोनुको । 

२०७७ सालमा नाकाबन्दी सुरु भयो । नाकाबन्दीका क्रममा उनीहरूले थप दु:ख ब्यहोर्नुपर्‍यो । उनले भारतमै उपचारका क्रममा हुँदा लेखेको लेख कान्तिपुर दैनिकमा ‘देश फर्के ज्यानलाई खतरा’ शीर्षकमा २६ असार २०७७ मा प्रकाशित भयो ।

लेखमा उनले नेपालमा डायलाइसिस नभएको र भारत जान कोभिडका कारण सिमानामा कडाइ गरेर निरीह बनेर फर्किनुपरेको उल्लेख गरेकी छन् ।

‘देशमा खाएको हन्डरले नै उपचारका लागि मलाई हरेक हप्ता दुईपटक भारततिर धकेल्थ्यो । तर, यसपालि एम्बुलेन्स र बिरामीको आउजाउ पनि ठप्पै पारिएछ ,’ उनले लेखेकी छन्, ‘२०७६ चैत १२ गते । डायलाइसिसका लागि म एम्बुलेन्समा भारततिर लागेँ । एम्बुलेन्सचालकले शंका गरेझैँ हामीलाई सीमापारि जान दिइएन । भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह सुनेनन् । सासूआमा र म घर फर्कियौँ ।’ 

त्यतिबेला उपचारकै लागि जान पनि उनीहरूले निकै याचना गर्नुपरेको थियो । सोनुको अन्तिम लेखको अन्तिम अनुच्छेदमा उनले ज्यानको आशा मार्दै भनेकी थिइन्, ‘अहिले अस्पतालको बसाइ छ । खाना, खाजा अनि उपचार । खर्च दुई गुणा बढेको छ । यसले देशको सुदूर कुनामा बाँचिरहेको यो दलित परिवारमा अर्को वज्रपात ल्याउँदै छ । बाँच्ने लालसाले सहयोगको हात फैलाउनु र जीवनको याचना गर्नु त बानी नै परिसक्यो । देशमा उपचार सेवा सहज छैन । सबै मानिसझैँ विपद्‌का बेला देश फर्कने र जहान परिवारसँगै बस्ने चाहना त मेरो पनि छ, तर के गर्नु, देश फर्के मेरो ज्यानलाई खतरा छ !’

त्यसपछि पनि बाँच्नलाई सङ्घर्ष गर्दै गरेकी सोनुले ०७८ कात्तिकमा संसारबाट बिदा भइन् ।

०००

सोनु र बाबु गुमाउनुको घाउ लिएर भौँतारिइरहेका धीरेन्द्र राज्यको असहयोग र अस्पतालको लापर्वाहीलाई कहिल्यै भुल्न सक्दैनन् । उनले यो १० वर्षमा सोनुलाई बचाउन गरेको प्रयत्नबारे किताबसमेत लेखेका छन् । जुन सोनु बितेको वर्षदिन पारेर प्रकाशित गर्ने योजनामा छन् । आफूले सोनु गुमाए पनि देशमा धेरै मिर्गौला पीडित सोनुहरू छन् । उनको प्रार्थना छ- उनीहरूले ज्यान गुमाउन नपरोस् ।

सोनुको उपचारका क्रममा उनले एउटा कुरा थाहा पाए-  नेपालमा ९० प्रतिशत मिर्गौला प्रत्यारोपण त महिलाबाटै हुने गरेको रहेछ । तर, महिलालाई आवश्यक पर्दा आफ्नै भए पनि सजिलै उपलब्ध नहुने रहेछ ।

सोनुलाई मिर्गौला प्रत्यारोपणका लागि परीक्षण गर्न नै कोही तयार भएनन् । महिलाले अंगदाता नपाएर ज्यान गुमाएको पनि धीरेन्द्रले धेरै देखे । त्यस कारण पनि उनी गीतमार्फत यो कुरा भन्न चाहन्थे । 

सुटिङका बेला उनीहरू जुन हस्पिटलमा गए, त्यहाँ सुटिङका लागि अस्पताल तयार भएन । सोनुको डायलाइसिस गर्ने हस्पिटलमा लापर्वाहीका कारण धीरेन्द्रको झगडा परेको थियो । ‘सामान्य सुटिङका लागि पनि अस्पताल तयार भएन । पछि निर्देशकले अर्को च्यानल प्रयोग गर्नुपर्‍यो,’ सरोज भन्छन् । 

अस्पताल प्रशासनको निर्दयिता देखेर सरोज अचम्मित भए । ‘बिरामीका परिवारको घाउमा नुनचुक छर्किने अस्पतालबाट कसरी ज्यानको आशा राख्ने ? राज्य र अस्पताल जनताकै लागि भए पनि उनीहरूले सामान्य मान्छेको जीवनरक्षा नगर्ने रहेछन्,’ घटनापछि सरोजलाई लागिरह्यो ।shilapatra.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button