जुवातास नियन्त्रणमा अछाम प्रहरी सक्रिय बन्दै


टेकराज भण्डारी, कात्तिक २९, अछाम

अछाम प्रहरीले तिहारमा हुने जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन तथा सक्रियता बढाएको छ । जिल्ला सदरमुकाम मंगलसैन सहित व्यापारीक केन्द्र तथा स्थानीय बजारमा समेत प्रहरी परिचालन बढाएको र नियन्त्रणको प्रयास गरिरहेको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताउनु भयो ।

प्रहरीले पछिल्लो समय अछाम सदरमुकाम मंगलसैन र जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ स्याउँलेखाँदबाट जुवातास खेलिरहेकाहरुलाई पक्राउ गरेको छ । कमलबजार नगरपालिका वडा नम्बर ६ स्याउँलेबाट बिहिवार राति १५ जनालाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिनुभयो । स्याउँलेबजारको पसलबाट जुवातास खेल्ने र हेर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रकम भने नियन्त्रणमा लिन नसकेको प्रहरीको भनाइ छ । यस्तै २५ गते राति सदरमुकाम मंगलसैनबाट ३२ हजार रुपैयाँ सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । सदरमुकाम मंगलसैनमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिनुभयो । केही महिना अघि जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढबाट करिब १ लाख ३० हजार रुपैयाँ सहित तास खेलिरहेकाहरुलाई समेत अछाम प्रहरीले पक्राउ गरेको थियो ।
पेशेवर रुपमा तास खेल्ने र खेलाउनेलाई लक्षित गरेर आफुले काम गरिररहेको डिएसपी थापाको भनाइ छ । तिहारमा जुवातास खेल्ने र खेलाउने गरेको धेरै हल्ला आईरहेको भन्दै आफुले प्रहरी परिचालन गरेको भन्दै डिएसपी थापाले जुनसुकै ठाउँमा जुनसुकै समयमा समेत प्रहरीले कारबाही गर्ने भन्दै प्रहरीलाई सूचना दिन सम्पूर्णमा आग्रह गर्नुभयो । जनशक्तिको अभावका कारण प्रहरी एक्लैले सबै ठाउँमा नियमित जान समस्या रहेका कारण सूचना दिएर प्रहरीलाई जानकारी गराईदिन डिएसपी थापाको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button